२४ कार्तिक, काठमाण्डौँ । अवलोकन भ्रमणमा आएका ३ वटा बस धरान १३ अमरहाटमा दुर्घटना भएको छ । स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा आएको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर २१ जना सामान्य घाईते भएका छन् ।
नवलपुरको विद्यार्थी बोकेको बस ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएको थियो । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दी १५८३ नम्बरको बसलाई ठक्कर दिएको थियो । म्याग्दीको उक्त बस पल्टेको थियो । त्यसपछि स्याङ्जाको विधार्थी बोकेको ग २ ख १५१३ नम्बरको बसमा ठोक्किएपछि मात्र नवलपुरको ब्रेकफेल भएको बस रोकिएको थियो ।
ब्रेकफेल भएको बस त्यसरी नरोकिएको भए जिरो पोइन्टतिर पुगेर ठुलो दुर्घटना गराउने र मानवीय क्षती हुने सम्भावना टरेको स्थानियले बताए । बसहरु नमस्ते झरना पुगेर भेडेटार समेत घुमघाम गरेर फर्कदै गरेको बेला दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइतेहरुलाई तत्काल वडा अध्यक्ष नेत्र काफ्लेसहित स्थानीयको टोलिले उद्दार गरेर वडाकै स्वास्थ केन्द्रमा र केही गम्भीरलाई बीपी प्रतिष्ठानमा उपचारको लागि पठाएको थियो । अन्य सामान्य अवस्थाका यात्रुहरुलाई वडा १३ को हलमा राखिएको छ । उनीहरूलाई होप धरान सस्थाले खाजा पानी तथा खाना खुवाउने व्यवस्था पनि गरेको छ ।