२१ कार्तिक, काठमाण्डौँ । चाडपर्वसँगै सुनचाँदीको कारोबार बढ्न थालेको छ । नेपालमा सुनचाँदी कारोबारको मुख्य ४ सिजन हुने सुनचाँदी व्यवसायी महासंघ बताउँछ । जसमा तिज, विवाहको समय, दसैँ र तिहार रहेका छन् ।
अहिले दसैँ र तिहारको समयमा दैनिक २० किलोग्रामसम्म सुन कारोबार हुन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिए ।
यसअघि विदेशी मुद्राको सञ्चिति घट्न थालेसँगै केन्द्रीय बैंकले सुनको दैनिक आयात कोटा समेत १० किलोमा झारेको थियो । तर, व्यवसायीको मागअनुसार अघिल्लो महिनादेखि लागु हुने गरेर केन्द्रीय बैंकले दैनिक २० किलोग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था गरेको थियो ।
अझ तिहारको समयमा उपभोक्ताले धनसम्पत्ति जोड्ने भएकाले बजार मागसमेत बढेको महासंघको भनाई छ । तिहार आउनै लाग्दा र तिहारअघि धनतेरस र लक्ष्मीपूजाको दिन झनै सुनचाँदीको कारोबार बढ्छ । उपभोक्ताले धनतेरस र लक्ष्मीपूजामा सुनचाँदी जोडेमा वर्षभरि धन आर्जन हुने विश्वास राख्छन् । चाडपर्वको समयमा सुनसँगै चाँदीको समेत कारोबार बढ्छ ।