१३ कार्तिक, काठमाण्डौँ । गैरआवासीय नेपाली संघ एनआरएनए को पराजिन पक्षले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएको छ । पराजित पक्षले गठन गरेको कार्यसमितिका अध्यक्ष आरके शर्माले ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् ।
ती बैंकमा पत्राचार गरिएको र यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत सीईओ राजेन्द्रकुमार राउतलाई पनि जानकारी गराइएको शर्मा नेतृत्वको एनआरएनएका महासचिव बुद्धि सुवेदीले जानकारी दिए ।
अध्यक्ष शर्मासहितका पदाधिकारी नियमित कार्य सञ्चालनका लागि भन्दै बालुवाटारस्थित संघको कार्यालयमा पुगेका थिए । तर, अध्यक्षको कोठा बन्द गरिएका कारण शर्माले प्रवेश गर्न पाएनन् । त्यसपछि उनले सीईओसहितका कर्मचारीसँग छलफल गरेका थिए । त्यसै क्रममा शर्माले संघको नाममा रहेका कुनै पनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको ताला चाबी जिम्मा लगाउन सीईओलाई आग्रह गरेका थिए । तर, त्यस क्रममा राउतले संघको सम्पूर्ण तालाचाबी डा। बद्री केसीसँग रहेको जानकारी गराएका थिए ।
भेटपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष शर्माले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा संचालन गरिनु अवैध हुने भएकाले तत्काललाई रोक्का गर्नुपर्ने बताए ।
शर्माले नेतृत्व गरेको एनआरएनए आइसीसीले आधिकारिकताको दाबी गर्दै गत शुक्रबार नै परराष्ट्र मन्त्रालयमा निवेदन दिइसकेको छ । आइतबार शर्मासहितका पदाधिकारीले परराष्ट्रमा पुगेर आधिकारिकताका लागि आवश्यक प्रमाण पेश गरेका छन् । आफूहरुले सहसचिव अमृत राईलाई आधिकारिकताको निवेदनअनुसार आवश्यक प्रमाण हस्तान्तरण गरेको भन्दै महासचिव सुवेदीले छिटै फाइल अध्ययन गरेर प्रक्रिया अघि बढाउने आश्वासन दिएको बताए । राईले धाँधली भएको कुरा विभिन्न माध्यमबाट आएको भन्दै मन्त्री एनपी साउदसँग परामर्श गरेर नियमसंगत ढंगले अघि बढ्ने कुरा बताएको बुझिएको छ ।
अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै एक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । त्यसै समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी गरेको हो । उक्त निवेदन परराष्ट्र मन्त्रालयमा दर्ता भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहित पदाधिकारीको नामावली पेश गरिएको छ ।