११ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सङ्घीय संसद्को दुवै सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएपछि आन्तरिक तयारी थालिएको छ । यही कार्तिक १४ गते अपराह्न ४ बजे राष्ट्रसङ्घका महासचिवले नेपालको संसद्लाई सम्बोधन गर्नेबारे सरकारले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको छ ।
गत कार्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्तिक १२ गतेदेखि १५ गतेसम्म महासचिव गुटरेसले नेपाल भ्रमण गर्ने कार्यतालिका स्वीकृत गरेको थियो ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले महासचिवको सम्बोधनका लागि संसद् सचिवालयले आन्तरिक तयारी थालेको जानकारी दिएका छन् । उनले भने– ‘नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घका महामहिम महासचिवको भ्रमणलाई उच्च महत्त्व र सम्मान दिएको छ । सोहीअनुसार भोलि प्रतिनिधिसभाको बैठक छ, त्यसपछि संसद्मा आन्तरिक सजावटको अलि–अलि काम हुन्छ । बैठक चल्दै गर्दा कुनै प्राविधिक समस्या नआओस् भनेर प्राविधिक पक्षहरूको चेकिङ गर्ने काम हुन्छ । संवैधानिक अङ्गका प्रमुख, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गर्ने काम पनि भोलिदेखि हुन्छ ।’
महासचिव गुटरेशले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् । सो बैठकमा सांसदहरूका अलावा संवैधानिक अङ्गका प्रमुख, विदेशी राजदूत तथा कूटनीतिक अधिकारीहरू पनि सहभागी हुनेछन् ।