एमाले सुदूरपश्चिमको अधिवेशन पाँच दिन लगाएर सकियो, सर्वेसम्मत नेतृत्व चयन

एमाले सुदूरपश्चिमको अधिवेशन पाँच दिन लगाएर सकियो, सर्वेसम्मत नेतृत्व चयन


२५ असोज, काठमाण्डौँ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा सहमतिबाट पदाधिकारी चयन गरेको छ । पाँच दिनसम्म अधिवेशन लम्ब्याएर एमालेले अछामका कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाएको छ । उनी अछामका पूर्वजिविस सभापति हुन् ।

अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले बुधबार उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका छन् । सहमतिका लागि बाधक नबन्ने भन्दै तीनै जना प्रत्याशीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही निर्विरोध भइसकेका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, हजारी साउद, बलदेव रेग्मी, रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् ।

सचिवमा रणबहादुर चन्द निर्विरोध चुनिएका छन । रतनराज रेग्मी र राजेशकुमार खातीले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत भए । महिला उपसचिवमा भागिरथी विष्ट सर्वसम्मत भएकी छन् । कन्दकला राना र कलशा महराले उम्मेदवारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत बनिन् ।

खुला उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका छन् । अशोककुमार चन्दले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत बनेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए । विभिन्न पदमा आकांक्षा राखेका उम्मेदवारहरूलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासनसहित उम्मेदवारी फिर्ता गराइएको स्रोतले बतायो ।

अन्तिम समयमा नेता भीम रावल निकट मानिएका अध्यक्ष पदका उम्मेदवार भरत साउदले उपसचिवमा आफू निकट नरबहादुर विकका नाममा सहमति खोजेका थिए । नेताहरूले विकका नाममा सहमति गरेपछि सबै पदाधिकारी सर्वसम्मत चयन हुने अवस्था आएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर