ओलीलाई स्वागत गर्न कार्यकर्ताहरु विमानस्थल भित्रै छिरे

ओलीलाई स्वागत गर्न कार्यकर्ताहरु विमानस्थल भित्रै छिरे


२४ असोज, जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ताहरु जनकपुर विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् । नेकपा एमाले मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर आएका ओलीलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरु धावनमार्गमै पुगेका हुन् ।

सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न पाइँदैन । तर एमाले कार्यकर्ताहरुलाई प्रहरी र विमानस्थलका कर्मचारीहरुले रोकेनन् । एमालेकै नेताहरूले पनि रोक्न चाहेनन् ।

ओली एती एयरलाइन्सको जहाज चढेर काठमाडौंबाट जनकपुर पुगेका थिए । एमाले नेता–कार्यकर्ताहरुको भीड हवाई जहाजको ढोकैमा पुग्यो ।

विमानस्थल सुरक्षामा खटिएका एक प्रहरीले भने रोक्न खोजे पनि नेता–कार्यकर्ता जबर्जस्ती ढोकासम्मै पुगेर फूलमाला र खादा लगाइदिएको बताए ।

विमानस्थल भित्र सर्वसाधारण र यात्रुलाई समेत बोर्डिङ पास विना जहाजको नजिक जान दिइँदैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार ओलीको स्वागत गर्ने क्रममा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको छ ।

२०७९ सालको चैतमा पनि केपी शर्मा ओली बाँकेको नेपालगञ्ज विमानस्थलमा ओर्लिंदा एमाले कार्यकर्ताहरु यसैगरी विमानको ढोकैसम्म पुगेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर