
२३ असोज, काठमाण्डौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा हमास विद्रोहीको आक्रमणमा मारिएका १० नेपालीको शव तत्काल नेपाल ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदलाई बोलाएर मृतकको शव तत्काल ल्याउन, घाइतेको उपचारको पहल गर्न र नेपाल फर्कन चाहनेलाई उद्धार गरेर ल्याउन निर्देशन दिइएको हो ।
यस्तै बेपत्ता भएका नेपालीको खोजी कार्य र नेपाल आउन चाहनेलाई फिर्ता ल्याउनका लागि समन्वय र पहलकदमी लिन समितिले निर्देशन दिएको छ । साथै भविष्यमा यस्ता खालका घटना घट्न सक्ने सम्भावना भएका नेपालीहरू रहेका मुलुकका नेपाली दूतावासलाई सावधानी अपनाउन र स्रोत र साधनले सम्पन्न बनाउन निर्देशन दिएको छ ।
इजरायलमा भएको अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरूको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७