आजबाट एमाले सुदूरपश्चिमको अधिवेशन शुरु, तीन जना अध्यक्षको दाबेदार

आजबाट एमाले सुदूरपश्चिमको अधिवेशन शुरु, तीन जना अध्यक्षको दाबेदार


२१ असोज, धनगढी । आजबाट शुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा तीन जनाले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन् । अहिलेका प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्यहरु कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन् ।

यी तीनै जनाले अधिवेशनका लागि धनगढी आइपुगेका प्रतिनिधिहरुसँग भेटघाट बढाएका छन् । तिम्सिनाले आफू अध्यक्ष पदको स्वभाविक उम्मेदवार भएको बताएका छन् । उनले आफ्नो नेतृत्वको प्रदेश कमिटीले आगामी चुनावमा एमालेलाई प्रदेशमा पहिलो शक्ति बनाउने बताए । २०४४ सालदेखि विद्यार्थी राजनीतिमा लागेका तिमिल्सिनाले लामो समय अछामको पार्टी राजनीति गरेका छन् । उनी जिल्ला सदस्य, सचिवालय सदस्य, प्रचार विभाग प्रमुख हुँदै जिल्ला अध्यक्ष बनेका थिए ।

अध्यक्ष पदका अर्का आकांक्षी जैशी पनि बलियो र सुदृढ पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँछन् । जैशी सुदूरपश्चिम प्रदेशमा स्थापित नेता हुन् । शिक्षण पेशा छोडेर राजनीतिमा लागेका जैसीले एमालेको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला उपसचिव र दुईपटक सचिव भएर काम गरेका छन् । उनी पार्टी अध्यक्ष केपी शर्मा ओली प्ररायुसंघ (हालको युवा संघ नेपाल) को अध्यक्ष हुँदा उक्त कमिटीका केन्द्रीय सदस्य थिए ।

अध्यक्षका अर्का दाबेदार प्रदेश सचिवालय सदस्य वचनबहादुर सिंहले पार्टीलाई संगठित, सुव्यवस्थित र सक्षम बनाउन अध्यक्षमा आफ्नो उम्मेदवारी भएको बताए । सिंह युवा पुस्ता र पूराना नेताले आफ्नो नाममा सहमती गर्ने विश्वास समेत रहेको दाबी गरेका छन् ।

प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सकभर समझदारीका आधारमा नेतृत्व चुन्ने बताएका छन् । तर त्यो प्रयास सम्भव नभए समूह बनाएर नभइ व्यक्तिगत रुपमा आकांक्षा राखेको पदमा चुनाव लड्न सबै प्रतिनिधिले सक्ने उनको भनाई थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर