१७ असोज, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले २ हजार ५ सय ८८ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जा वितरण गर्ने तयारी गरेको छ ।
राष्ट्रिय भूमि आयोग गठन भएपछि जिल्लामा पहिलो पटक माङसेबुङले धनीपूर्जा वितरणको तयारी गरेको हो । त्यसका लागि माङसेबुङ गाउँपालिकाले निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण सुरु गरेको छ ।
मंगलबार माङसेबुङ गाउँपालिका–६ स्थित चिसोपानी पञ्चमीमा एक कार्यक्रम गरी निस्सा वितरण कार्यक्रम सुरुआत गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, राष्ट्रिय भूमि आयोग इलामका अध्यक्ष भक्त केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, गाउँपालिका अध्यक्ष हेमन्त राईलगायतले सो वडका जेष्ठ सदस्यहरुलाई निस्सा हस्तान्तरण गर्दै कार्यक्रमको सुरुआत गरेको हो ।
माङसेबुङले मंगलबार सो वडाका ३ सय ८७ जनालाई निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण गरेको छ । जसमध्ये ९ जना भूमिहीन सुकुम्बासी र ३ सय ७८ जना अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
यता निस्सा पाएपछि वडाबासीहरुले समेत जग्गाको धनीपूर्जा पाउने विश्वास बढेको छ । वर्षाैंदेखि चासभोग गर्दै आएको जग्गाको धनीपूर्जा पाउने आशामा रहेका वडाबासीहरु निस्सा पाएपछि भने धनीपूर्जा पाउने विश्वास बढेको हो ।
माङसेबुङले अन्य वडामा समेत निरन्तर निस्सा वितरण गर्ने अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार वडा नं. ३ मा १७ गते, ५ मा १८ गते, ४ मा १९ गते, २ मा २५ गते र १ मा २६ गते निस्सा वितरण गर्नेछ ।
माङसेबुङ गाउँपालिकामा २ हजार ५ सय ८२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका थिए । जसमध्ये २४ जना भूमिहीन दलित, २ सय २८ जना भूमिहीन सुकुम्बासी र २ हजार ३ सय ६ जना अव्यवस्थित बसोबासीहरु रहेका छन् ।
भूमिहीन दलितले १ सय ३० वर्गमिटर, भूमिहीन सुकुम्बासीले ३ सय ४० वर्गमिटर आवास क्षेत्र वा ३ हजार वर्गमिटर कृषि क्षत्र र अव्यवस्थित बसोबासीले १ हजार वर्गमिटर आवास क्षेत्र वा १० हजार वर्गमिटर कृषि क्षेत्रको जग्गा पाउनेछन् ।