१३ भाद्र, काठमाण्डौँ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो जीप पुरिदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका ७ की ५० वर्षीय मनकला चुधारा, पाल्पा तानसेन नगरपालिका घरभई जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी यम बहादुर बोहोरा र कास्की जिल्ला पोखरा महानगरपालिका २५ हेम्जाका ३१ वर्षीय बिनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान रिब्दीकोट गाउँपालिका २ जोर्तेमा डुङ्गासहितको पहिरोले पुरिएर थियो ।
अन्य आठ जना घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका लागी पठाइएको प्रहरीले जनाएको छ । घटना स्थलमा स्थानीय र प्रहरीसहितको टोली उद्धार गरेका थिए ।
दुर्घटनाको बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।