
२७ असार, काठमाण्डौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उनको बुधबार बिहान निधन भएको हो ।
लामो समय पार्किन्सनसम्बन्धी रोगबाट ग्रसित सीता दाहालको विभिन्न अस्पतालमा उपचार भएको थियो । तर, स्वास्थ्यमा उनको थप जतिलताहरु आउँदा पछिल्लो समय नाजुक अवस्था बनेको थियो । सीतालाई उपचारका लागि भारतदेखि सिंगापुर र अमेरिकासम्म लगिएको थियो । यस्तै देशभित्रै पनि आयुर्वेदिकदेखि विभिन्न उपचारको प्रयास गरिएको थियो ।
विक्रमसम्बत २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । विक्रमसम्बत २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध सीता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्र को केन्द्रीय सल्लाहकार रहेकी थिइन् ।
पार्टी कामका लागि पञ्चायत कालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल जनयुद्ध सुरुवात भएपछि (२०५२ सालदेखि) भूमिगत राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । जनयुद्धका आँधीमय वर्षहरूमा सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका दाहालले निर्वाह गरेकी थिइन् ।
हाल भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७