ललिता निवास प्रकरणः मीनबहादुरको बयान ‘‘मैले जग्गा किनेको हो, गल्ती गरेको छैन ।’’

ललिता निवास प्रकरणः मीनबहादुरको बयान ‘‘मैले जग्गा किनेको हो, गल्ती गरेको छैन ।’’


२६ असार, काठमाण्डौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ थुनामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीविरुद्ध ‘संगठित सरकारी छाप र लिखत किर्ते’ मुद्दा चलाएको छ ।

ब्यूरोका अधिकृतहरूले गुरुङमाथि दुईवटा विषयमा अनुसन्धान गरिरहेका छन् । सिआईबीको मुद्दा नम्बर-२४ अन्तर्गत ‘जग्गा फिर्ता’ र मुद्दा नम्बर-२७ अन्तर्गत ‘निवास परिसर विस्तार सट्टापट्टा र सोधभर्ना’ सम्बन्धी कसुरमा उनी संलग्न छन् । करिब १३७ रोपनी जग्गा हिनामिनामा उनीसमेत संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ ।

ललिता निवास प्रकरणमा पक्राउ गरिएका १४ जना आरोपितको बयान प्रहरीले ‘क्रस भेरिफाई’ गरिरहेको छ ।

तर, ललिता निवास प्रकरणमा आफ्नो गल्ती नभएको गुरुङले जिकिर गरेका छन् । ‘ललिता निवास क्याम्प भित्रको जग्गा मैले किनको हो,’ बयानमा मीनबहादुरले भनेका छन्-‘गल्ती गरेको छैन ।’

सरकारको जग्गामा मोहियानी हक नलाग्ने भएपनि गुरुङले नक्कली मोही खडा गरेर २९ रोपनी १५ आना जग्गा आफ्नो र कम्पनीको नाममा कायम गराएको भेटिएको छ । कनकशम्शेर जबराको नामबाट २९ रोपनी १५ आना जग्गा मिनबहादुर, निजको परिवार तथा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिको नाममा आएको भेटिएको ब्यूरोकी एआईजी किरण बज्राचार्यले बताइन् ।

ललिता निवास क्याम्पको जग्गा रुक्म शमशेर समेतबाट किनेको गुरुङले बयानमा खुलाएका छन् । भाटभटेनी डेलभपमेन्ट कम्पनी प्रालिका सञ्चालक ६९ वर्षीय गुरुङले नक्कली मोही खडा गरेर सरकारी जग्गा मस्यौट गर्ने काममा बिचौलियाको भूमिका खेलेको अनुसन्धानमा संलग्न सिआईबीका अधिकृतहरू बताउँछन् ।

सिआईबीका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) बेल बहादुर पाण्डे नेतृत्वको समितिले २०७६ मा छानबिन गर्दा पनि गुरुङसँग बयान लिएको भेटिएको छ । छानबिन प्रतिवेदनमा उनको ‘बयान कागज’ गरेर पेश गरिएको छ ।

आफ्नो परिवारको नाममा आएको जग्गाको मूल्य आफैँले व्यवस्थापन गरेको तर आफूसँगै जग्गा किनेका रामकुमार सुवेदी र शोभाकान्त ढकालले कहाँबाट रकम व्यवस्थापन गरेका हुन् भन्नेबारे आफूलाई थाहा नभएको गुरुङले बताएका छन् ।

भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिमा आफू र पत्नी सावित्री गुरुङको ५१ प्रतिशत तथा राम कुमार सुवेदी र शोभाकान्त ढकालको ४९ प्रतिशत सेयर रहेको ‘बयान कागज’ गरेका छन् ।

ललिता निवास प्रकरणमा ‘बिचौलिया’ भनेर चिनिएका राम कुमार सुवेदी र शोभाकान्त ढकालसँग आफूलाई पूर्व सचिवले चिनजान गराएको गुरुङले बयान दिएका छन् । ललिता निवास क्षेत्रमा बाटो बिस्तार र भिआईपीको निवास परिसर विस्तार गर्ने क्रममा सट्टाभर्ना नपाउने गरी दिएको ‘सहमति’ बारेमा अहिले याद नभएको गुरुङले बयान दिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर