१ भाद्र, झापा । झापाको बिर्तामोडबाट सशस्त्र प्रहरीले शंकास्पद् दुई वटा ट्रकलाई नियन्त्रण लिएको छ । नियन्त्रणमा लिएको ट्रक अनुसन्धानका लागि काठमाडौं पठाइएको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प शनिश्चरेले जनाएको छ ।
शनिश्चरेको टोलीले मंगलवार राती साढे ८ बजे बिर्तामोड–५ स्थित पाथीभरा टोलबाट दुई वटा ट्रक नियन्त्रणमा लिएको थियो । भन्सार छलेर ल्याइएको २ वटा ट्रकमा थान कपडा हुन सक्ने शंका गरिएको छ । ट्रकबाट अनलोड गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरीको शनिश्रे बेस क्याम्पले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएको ट्रकलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ । ना ४ ख २०८५ र प्र–१०१–००१–ख ३५७७ नम्बरको मालबाहक फुलबडी ट्रकलाई सशस्त्र प्रहरीले अनुसन्धानका लागि विभाग पठाइसकेको छ ।
शनिश्चरे बेस क्याम्पका डिएसपी संजिव पौडेलले शंकास्पद लागेर नियन्त्रण लिएको र आवश्यक अनुसन्धानका लागि राजश्व विभाग पठाएको जानकारी दिनुभयो ।
बिर्तामोडमा केहि समय यता हरेक दिन ट्रकका ट्रक भन्सार छलेर करोडौंको थान कपडा भित्राइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरीले निगरानी बढाएको थियो । ट्रक र ट्रकमा भएको सामान कसको हो भन्ने बारे खुलाइएको छैन ।