२ कार्तिक, कञ्चनपुर । । लगातारको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीबाट तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका हुन् ।
बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्याएको अधिकारीहरुले जनाएका छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले महाकाली नदी र जोगबुढा नदीमा अहिलेसम्मकै ठूलो बाढी आउँदा तटीय क्षेत्रका सयौं घरपरिवार प्रभावित भएको बताउनुभयो ।
नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताउनुभयो ।