१ कार्तिक, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नर्भिक अस्पताल पुग्नुभएको छ । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुग्नुभएको हो ।
प्रचण्डले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुभएको छ । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए ।
वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।
नेता वैद्यलाई भेट्न प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुग्नुभएको थियो ।