
३१ भाद्र, झापा । पछिल्लो समय नेपाली राजनीतिमा युवा पुस्ताको सक्रियता बढेको छ । राजनीतिक दलहरुमा युवाहरुको जमातले नेतृत्व गर्नुपर्छ भनेर आवाज उठ्न थालेका छन् । हाल चलिरहेको नेपाली कांग्रेसको १४ औँ महाधीवेशन अन्तर्गतको वडा अधिवेशनमा युवाहरु निर्वाचित भएको समाचारले सामाजिक संञ्जाल छाएको छ ।
यसै अन्तर्गत झापाको दमकमा पनि कांग्रेस समर्थक युवा पुस्ताहरु नेतृत्वमा आउन प्रयासरत देखिन्छन् । गएको स्थानिय तहको निर्वाचनमा दमक नगरपालिका क्षेत्रमा नराम्रो संग पराजय ब्यहोरेको कांग्रेसलाई अब नयाँ ढंगबाट अगाडी बडाउनु पर्छ भन्दै युवाहरुले पार्टीको जिम्मेवार पदमा दावि गरेका छन् । करिव साता दिन अघि मात्र सम्पन्न भएको दमक ७ को कांग्रेस वडा अधिवेशनबाट सभापतिमा युवा नेता अतित राई (२८ बर्ष) सहित सिंगो टिम नै युवा जमातको निर्वाचित भएको थियो । यस्तैगरी अहिले दमक ७ कै २६ बर्षिय युवा ललित मगरले पनि नगर समिति सह–सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।
सह–सचिव पदका दावेदार मगर केही दशक अघि देखी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)मा सक्रिय रहेका छन् । २०६७ सालमा हिमालय उच्च मा.वि.को नेवि संघ सचिव रहेका मगर २०७२ मा भएको कांग्रेसको १३ औँ महाधिवेशनबाट दमक ७ को वडा सचिवमा निर्वाचित भएका थिए । यस्तैगरी २०७७ सालमा उनी नेवि संघ दमक नगरको उपसभापतिमा समेत मनोनित भएका थिए । राजनीतिक संगठन बाहेक उनी विभिन्न युवा क्लव, समुहहरुमा पनि सक्रिय रहेका छन् । हामीले उनै युवा ललित मगर (कांग्रेस दमक नगर सह–सचिव उम्मेद्धवार)लाई केही प्रश्न गरेका छौँः–
कांग्रेस दमक नगर समितीको सह–सचिवमा तपाईको उम्मेद्धवारी किन ?
नेपाली राजनीतिक आन्दोलनको धरोहर नेपाली कांग्रेस पार्टी भित्र रहेको प्रैढतन्त्रलाई हटाउदैँ परिवर्तनका लागि, पार्टी भित्रको विकृती अन्त्यका लागि, युवा शशक्तिकरणका लागि मेरो उम्मेद्धवारी हो । गुट–उपगुटले रुमल्लिएको पार्टीलाई सहि दिशामा हिडाउन र विधि–पद्धतीमा चलाउन भनेर मैले उम्मेद्धवारी दिने निर्णय गरेको हुँ ।
कसरी उम्मेद्धवारी दिने निर्णय गर्नुभयो ?
नेपाली राजनीतिलाई अव युवाहरुले नयाँ ढंगबाट नेतृत्व गरेर अगाडी बढ्नुपर्छ । हरेक जसो राजनीतिक दलमा देखिएको प्रैढतन्त्रलाई चिर्न हामिले आट गर्नुपर्छ । केन्द्र देखी वडा तहसम्म नै हामी युवाहरु सक्रिय जिम्मेवारीमा रहन तयार रहनु पर्छ । यो भन्दा अघिल्लो महाधिवेशनबाट मैले वडा सचिवको जिम्मेवारी पुरा गरेर आएको हुँ । नेवि संघमा रहेर विभिन्न जिम्मेवारी पुरा गरे । त्यसैले पनि मैले स्वाभाविक रुपमा नगरमा उम्मेद्धवारी दिएको हो । त्यसमा मैले ‘दमकको कांग्रेसमा स्थानिय नेतृत्व, स्थानिय नेता’ भन्ने नाराका साथ अधिवेशनमा युवाहरु लागै भनेर उम्मेद्धवारी दिने निर्णय गरेका छु ।
“दमकको कांग्रेसमा काँचो युवाहरु आए” भन्ने कुरा पनि वुढा नेताहरुबाट सुनिन्छ नि ?
आज नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक शक्ति हो । यो पार्टीलाई यहाँसम्म पुर्याउन विपि कोईरालाको महत्वपुर्ण भुमिका छ । जसले दमकमा काँचो युवाहरु आए भन्नुहुन्छ, उहाँहरुले एक पटक विपिले कति बर्षको उमेर देखी पार्टी हाक्नुभयो र कति बर्षको उमेरमा देशको प्रधानमन्त्री बन्नुभयो ? ईतिहास हेर्न अनुरोध गर्छु । ५०/६० कटेकाहरु मात्र खारिएका हुन्छन्, उनीहरुले मात्र नेतृत्व गर्छन् भन्नु र यस्ता सोच राख्नु गलत हो । यो विचारबाट हामी मुक्त हुनुपर्छ । हामीले थुप्रै ठाउँमा पाका उमेरका नेताहरुले नेतृत्व गरेको पनि देख्यौँ, पार्टीले निर्वाचनमा ल्याएको परिणामहरु पनि नियाल्यौँ तर अब कांग्रेसलाई साच्चिकै देशको पहिलो पार्टी बनाउनु छ भने युवा नेतृत्व आउनुपर्छ । दमकमा कांग्रेसलाई जिताउनुछ भने युवाहरु पार्टीको नेतृत्वमा आउनुपर्छ, फ्रन्टलाईनमा खडा हुनुपर्छ ।
महाधिवेशनमा जित्नुभयो भने के गर्नुहुन्छ ? अनि हार्नुभयो भने ?
नेपाली कांग्रेस लोकतान्त्रिक शक्ति हो । यो कहिल्यौ रोकिदैन, अविरल बगिरहन्छ । महाधिवेशनमा पनि आकांक्षी धेरै भयो भने निर्चान त हुन्छ नै । त्यहाँ हार जित दुबै हुन्छ । पार्टीका नेता कार्यकर्ताहरुले मलाई विश्वास गरेर जिताउनुयो भने पक्कैपनि हामी समन्वय सहकार्य गरेर अगाडी बढ्छौँ । पार्टीको गुटगत प्रविर्तिलाई हटाउँदै विधि पद्धतीमा पार्टीलाई चलाउछौँ । युवाहरुको जमातलाई विकाश–निर्माण र खराब कुराको खबरदारीमा लाग्न प्रेरित गर्छौ । युवा शक्तिलाई उर्जाशिल र उत्पादनमा जोड्न पार्टीबाट पहल गर्नेछु ।
अनि पराजित भयो भने पनि केही छैन । एउटा युवा कार्यकर्ताको भुमिकामा नगरका साथीभाईहरु संग नै रहने छु । उहाँहरुको सामस्यामा लागि परिरहने नै छु । युवा शशक्तिकरणका लागि पहल गरिरहने नै छु ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७