फोहोर ब्यवस्थापन केन्द्र नहुँदा विर्तामोडको फोहोर सडकमै

फोहोर ब्यवस्थापन केन्द्र नहुँदा विर्तामोडको फोहोर सडकमै


१३ भाद्र, झापा । झापाको बिर्तामोड नगरपालिकामा फोहोर उठ्न छाडेको छ । नगरपालिकामा फोहोर ब्यवस्थापन केन्द्र नहुँदा फोहोर उठाउने ठेक्का पाएको निराकार सरसफाई सेवा प्रालिले भएर फोहोर उठाउन छाडेको हो । फोहोर उठाउन छोडेपछि चोक–चोक फोहोर थुप्रिन थालेको छ । भदौरै झरीका कारण फोहोर बगाएर बिर्तामोड झनै हाल वेहाल भइरहेको छ ।

केहि महिनाअघि मात्रै फोहोर उठाउने सम्झौता गरेको निराकारले फोहोर उठाउन छोडेपछि शुल्क तिरेकाहरु समस्यामा परेका छन् । शुल्क बुझाइसकेका सेवाग्राहीले तत्काल फोहोर उठाइदिन माग समेत गरेका छन् ।

यता, निराकारले फोहोर उठाएर फाल्ने ठाउँ नभएकाले समस्या भइरहेको जनाएको छ । निराकारका बिर्तामोड प्रमुख रविन भट्टराईले ल्याण्डफिल्ड साइडको अभावका कारण फोहोर उठाउन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘फोहोर उठाउन त सकिन्छ, तर कहाँ फाल्नु ?’ फोहोर फाल्ने ठाउँ नभएकै कारण केही साता देखि फोहोर नउठाएको उहाँको भनाई छ । भट्टराईले नगरपालिकाले ल्याण्डफिल्डको व्यवस्था गरिदिने भनेपछि व्यवस्थापनको जिम्मा लिएको बताउनुभयो ।

बिर्तामोड नगरपालिकाले वडा नं. ८ मा मधु गौतमको जग्गामा ल्याण्डफिल्ड बनाउने गरि तयारी गरेको थियो । गत हप्ता मात्रै स्थानीयसँग छलफल गरेको नगरपालिका फेरि पछि हटेको छ । पहिलो चरणको छफलफलमा फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड बनाउन दिने सहमति गरेका स्थानीय आफै विरोधमा उत्रिएपछि नगरपालिका पछि हटेको हो । त्यपछि नगरपालिकाले देउनीया पुल पारी दक्षिणमा चियन बगान क्षेत्रमा तत्कालको समाधानका लागि ठाउँ पाएको थियो । जग्गा धनीले जग्गा दिएपछि खोला वारीका नागरिकले फेरि विरोध गरेका छन् ।

यसबारे बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले फोहोर फाल्ने ठाउँको अभाव भएकै कारण उठाउन समस्या भइरहेको स्विकार गर्नुभएको छ । हरेक दिन फोहोर व्यवस्थापनका लागि ठाउँको खोजी र सम्पर्क समन्वय गर्ने काम भइरहेको उहाँको भनाई छ । ल्याण्डफिल्ड साइडको प्रवन्ध गर्न नसक्दा समस्या भइरहेकोले तत्काललाई अहिलेको फोहोर फाल्नका लागि स्थानको खोजी गरिरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर