५ भाद्र, काठमाण्डौँ । नेकपा एमाले विभाजनसँगै प्रदेश १ मा शेरधन राईको नेतृत्वको सरकार विस्थापन गरी नयाँ सरकारको निर्माणको तयारीमा जुटेको गठबन्धनले छलफललाई तीव्र पारेका छन् । तर सरकारको नेतृत्व कसले गर्ने भने विषयमा गठबन्धन दल भित्र सहमति भने बनिसकेको छैन ।
सत्तारूढ गठबन्धनमा काँग्रेसलाई गण्डकी र सुदूरपश्चिम, माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एकीकृत समाजवादीलाई प्रदेश १ र बागमती प्रदेशको नेतृत्व दिने आन्तरिक सहमति भएको भन्ने आधारमा एकीकृत समाजवादीले सरकारको नेतृत्व लिनका लागि कसरत सुरु गरेको छ ।
जसमा नेकपा माओवादी केन्द्रको सहयोगमा भावी मुख्यमन्त्रीका रूपमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईलाई अघि सारेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेकाले प्रदेश १ को मुख्यमन्त्रीमा भने माओवादीले दाबी गरेको छैन ।
प्रमुख प्रतिपक्ष दल रहेको नेपाली काग्रेसले पनि यो बीचमा आफू ठुलो पार्टीको हैसियतमा मुख्यमन्त्री दाबी भने छाडेको छैन । तर काँग्रेस भित्रै संसदीय दलका नेता राजीव कोइरालालाई मुख्यमन्त्रीका लागि असहयोग हुने देखिएको छ । काँग्रेस पार्टी स्रोतका अनुसार संसदीय दलका उपनेता रहेका हिमाल कार्की लगायतका प्रदेश सभा सदस्य सरकारको नेतृत्व काँग्रेसले गरे पनि मुख्यमन्त्री कोइरालालाई कुनै पनि हालतमा बनाउन नहुने पक्षमा छन् । कोइरालालाई मुख्यमन्त्री बनाउने भन्दा दलको नेता फेरेर भए पनि सरकारको नेतृत्व काँग्रेसले लिन पर्नेमा केन्द्रलाई उनीहरूले दबाब दिँदै आएको स्रोतको दाबी छ ।
काँग्रेस संसदीय दलको नेता कोइराला पार्टीका नेता शेखर कोइराला निकट मानिन्छन् । यता उपनेता हिमाल कार्की भने देउवा निकट हुन् । देउवाका निकट मानिने नेता ज्ञानेन्द्र कार्की पनि संसदीय दलका नेता कोइरालालाई मुख्यमन्त्रीका रूपमा अगाडी सार्न इच्छुक देखिएका छैनन् । हाल भोजपुरबाट सुनसरीलाई आफ्नो राजनीतिक थलो बनाएका नेता कार्की संसदीय दलका नेता कोइराला प्रदेश १ को मुख्यमन्त्री भएको खण्डमा पावर सेयरिङमा पनि कोइराला शक्तिशाली भएर उदय हुँदा सुनसरीको आफ्नो राजनीतिक प्रभाव कमजोर हुने डरमा उनी कोइरालालाई मुख्यमन्त्रीका लागि अगाडी सार्ने पक्षमा सकारात्मक नरहेको पार्टी स्रोतले जनाएको छ ।
कुल ९२ जना प्रदेशसभामा नेपाली काँग्रेसका २१ माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक मञ्चको १÷१ जना सांसद छन् । नयाँ सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । काँग्रेस, माओवादी र जसपाका सबै गर्दा ३९ सांसद छन् । अर्थात नयाँ सरकार बनाउन एमालेका ८ सांसदले एकीकृत समाजवादी रोज्ने रोजेकाले नयाँ सरकार बन्ने अवस्था छ ।
प्रदेश १ मा ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, सिट सङ्ख्या रहेको छ । एमालेका ५१ सांसदमध्ये एक जना प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार सूचीमा छिन् । एकीकृत समाजवादीमा ८ जना खुलेका छन् भने ६ जना तटस्थ र ३६ जना एमालेमा छन् ।