नेपालको पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य

नेपालको पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य


२ भाद्र, काठमाण्डौँ । एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने तय भएको छ । वागमती प्रदेशमा एमाले संसदीय दलको नेता चयन भएसँगै शाक्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

शाक्य हिजोका दिनसम्म एमालेको माधव नेपाल समूहकी नेतृका रूपमा चिनिनुहुनथ्यो । तर आज नेपाल समूहले एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिरहँदा उहाँ विभाजन प्रक्रियाबाट बाहिरिनुभएको छ । माधव नेपालको साथ छोडेसँगै उहाँलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली तयार हुनुभएको हो ।

नेपालमा संघीय प्रणालीको शुरूआत भएर बनेका सात प्रदेश सरकारमा अहिलेसम्म महिला नेतृत्व थिएनन् । वागमतीले अष्टलक्ष्मीको रूपमा अनुभवले खारिएकी नेतृलाई मुख्यमन्त्री पाएको छ । यद्यपि, उहाँको कार्यकाल भने धेरै लामो छैन । वर्तमान प्रदेशसभाको बाँकी करिब डेढ वर्षे कार्यकाल उहाँले मुख्यमन्त्रीका रूपमा चलाउनुहुने छ ।

को हुन् अष्टलक्ष्मी ?

देशकै अग्रणी महिला नेतृको सूचीमा आउँछिन् ६७ वर्षिया अष्टलक्ष्मी । २०५४ सालमा दशैंको अष्टमीका दिन जन्मेको भएर उनको नाम अष्टलक्ष्मी राखिएको हो ।

काठमाडौंको झोँछेमा बसोबास गर्ने नेवार परिवारमा जन्मेकी अष्टलक्ष्मीले २०२९ सालमा एसएलसी पास गरेकी थिइन् । घरपरिवारले बिहेको लागि दबाब दिएपछि उनी २०३६ सालमा घर छोडेर भागिन् र पूर्णकालीन राजनीतिमा लागिन् ।

शाक्यले पञ्चायतकालमा ११ वर्षसम्म भूमिगत जीवन बिताएकी थिइन् । उनको विवाह २०३७ सालमा पार्टीकै सहयोद्धा अमृतकुमार बोहरासँग भएको थियो । बोहरा अहिले एमालेका स्थायी समिति सदस्य हुन् । उनी माधव नेपाल समूहकै भए पनि अहिलेको विभाजनमा सहभागी छैनन् ।

पार्टीको महिला संगठन स्थापनामा उनको ठूलो योगदान छ । उनल गौरा प्रसाइ सुशील श्रेष्ठ लगायतसँग मिलेर हेटौंडामा नेकपा मालेको गोप्य सम्मेलन आयोजना गरेकी थिइन् । सो सम्मेलनले नेपाल महिला संगठनको पुनर्गठन गरेको थियो ।

शाक्य २०५४ सालको संसदीय चुनावमा काठमाडौंबाट सांसद निर्वाचित भएकी थिइन् । यस्तै, २०७१ सालमा भएको संविधानसभा चुनावमा पनि निर्वाचित भएकी उनी आफ्नो राजनीतिक जीवनमा दुईपटक मन्त्री बनिन् । एकपटक उनी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने अर्काेपटक उद्योग तथा वाणिज्य मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

लामो राजनीतिक संघर्ष र योगदानका कारणले सबैले सम्मान गर्ने नेतृ हुन् अष्टलक्ष्मी । उनका राजनीतिक जीवन धेरै महिलाहरुका लागि प्रेरणादायी छ । क्षमताको हिसाबले भने उनी औसत मानिन्छिन् । पार्टीको जिम्मेवारीमा छँदा होस वा मन्त्री बन्दा, उनको विशेष खुबी केही देखिएको छैन । अब मुख्यमन्त्रीका रूपमा उनले छोटो समयमा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती आइपरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर