१ भाद्र, झापा । झापामा अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७७/०७८ मा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताउनुभयो ।
प्रहरीको विवरण अनुसार झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आ.व. २०७७/७८ मा ६५७ सवारी दुर्घटना भएको छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो ।
आव ०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए । आव ०७७/७८ मा सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने एक हजार ६५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।