३२ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावाण ३ गते संसद्मा विश्वासको मत लिने दिन संसद् हलबाट बाहिरिएका नेकपा (एमाले) माधव पक्षका सांसदहरु अन्ततः पार्टी अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिने भएका छन् । पार्टी एकताको लागि भन्दै विश्वासको मत पनि नदिने र विपक्षमा पनि मत नहाल्ने भन्दै संसद् भवनबाट बाहिरिएका माधव नेपाल पक्षधर सांसदहरु अहिले अध्यक्ष ओलीको कित्तामा उभिएका हुन् ।
एमालेनिकट उच्च स्रोतकाअनुसार नेपाल पक्षमा एकताको लागि भन्दा पनि विभाजनको पक्षमा बहुमत सदस्यहरु देखेर उनीहरु अध्यक्ष ओलीको कित्तामा उभिन पुगेका हुन् । खासगरी ती सांसदहरुले वरिष्ठ नेता नेपाललाई अध्यक्ष ओलीसँग सहमति गर्नको लागि वार्ता गराउन प्रयासरत थिए । तर, नेपालले आफूहरुको भन्दापनि पार्टी विभाजन गरेर जानुपर्छ भन्नेहरुको कुरा बढि सुन्न थालेकोले उनीहरु अहिले नेपाललाई छोडेर ओलीको कित्तामा उभिन पुगेका बताईएको छ ।
वरिष्ठ नेपाल पक्षका सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपटबहादुर रावल, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडार, राजबहादुर बुढालगायत सांसदहरुले अहिले नेपालको साथ छोडेको बुझिएको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन ओली क्याम्प परिवर्तन गरेर नेता नेपालको क्याम्पमा आएका सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, हिरा केसी, बिना बुढाथोकी र समिना हुसेन नेपाल समूहमा बढि हाबी भएपछि नेपाल पक्षका हस्तीहरु विस्तार नेपालको साथ छोडेर ओली क्याम्पमा उभिन पुगेका छन् ।
अहिले सुरेन्द्र पाण्डे र भीम आचार्य भने नयाँ दिल्लीमा उपचरार्थ वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न गएका छन् ।