३१ श्रावण, काठमाण्डौँ । नेपाली कांग्रेसले स्थानिय तहको कार्यसमिति क्रियाशील सदस्यले चुन्ने व्यवस्था हटाएको छ । विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गर्दै कांग्रेसले वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मात्रै गाउँ तथा नगर अधिवेशनका मतदाता हुने निर्णय गरेको छ ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो । पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ–नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्थासमेत गरिएको छ ।
सभापतिबाहेक कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार भने क्रियाशील सदस्य पनि बन्न पाउँछन् । यसका लागि मतदाता भने वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर, उपमहानगर, महानगरपालिका क्षेत्र भित्रका कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा गाउँपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने’ निर्णय केन्द्रीय समितिबाट भएको छ ।
यो संशोधनलाई आगामी महाधिवेशनबाट अनुमोदन गर्ने कांग्रेसको तयारी छ । यस्तै अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सन्दर्भमा विधान र नियमावलीमा भएको पालिकाका क्रियाशील सदस्यहरूले निर्वाचित गर्ने व्यवस्थालाई पनि संशोधन गरिएको छ ।