३० श्रावण, काठमाण्डौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूहका नेताहरुले मन्त्री बन्न दाम्लो चुँडाउन खोजेको टिप्पणी गर्नुभएको छ । आज काठमाडौंमा आयोजित वागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा कार्यक्रममा आफूले त्यसरी मन्त्री बन्न हतारिनेलाई केही समय रोकिन भनेको र उनीहरुले आफ्नो आग्रह मानेको समेत उहाँले बताउनुभएको छ ।
‘केही साथीहरुलाई हामी जान्छौं भनेर झण्डै दाम्लो चुँडालेर तयार हुनुभयो,’ नेता नेपालले भन्नुभयो, ‘दाम्लो चुँडाल्नेलाई म के गर्न सक्छु । आफ्नैलाई त रोक्न सकिएको छैन् । तैपनि मैले भनेको कुरालाई मान्नु भएको छ । दाम्लो नचुँडाउनुहोला मैले भनिरहेको छु । अहिले अन्तिम कोसिस गर्न नदिनुहोस् । मन्त्री ठूलो कुरा होइन । विचार ठूलो कुरा हो । पद ठूलो कुरा होइन, नीति ठूलो कुरा हो ।’
उहाँले अझैं पनि एमाले अध्यक्ष केपी ओलीको मन परिवर्तन गर्न सकिन्छ कि भनेर आफ्ना साथीहरु प्रयास गरिरहेको र आफूहरु अन्तिम प्रतिक्षामा रहेको बताउनुभयो ।
सरकारमा सहभागिता र नियुक्तिहरुबारे पनि नेता नेपालले टिप्पणी गर्नुभयो । ओली सरकारले एकलौटी रुपमा गरेका नियुक्तिमा के गर्ने भन्नेबारे छलफल जारी रहे पनि आफूहरुले सरकारलाई मन्त्रिपरिषद् विस्तार र नियुक्तिमा नरोकेको बताउनुभयो ।