२२ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी ओलीसँग झुकेर एकता नगर्ने निष्कर्ष निकालेको छ । आज सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिनुभएको हो ।
त्यस्तै बैठकले अध्यक्ष ओली पक्षले एकपक्षीय रूपमा गरेको पार्टीका सङ्गठनात्मक गतिविधि तत्काल रोक्न माग पनि गरेको छ । दुई दिनसम्म चलेको सो समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता पन्तले जानकारी दिनुभयो । ‘पार्टी एकताका लागि वार्ता चलिरहेका बेला सदस्यता नवीकरण, अधिवेशन लगायतका सङ्गठनात्मक काम अध्यक्ष ओली पक्षबाट भइरहेको छ त्यो रोक्नुपर्ने बैठकको निष्कर्ष छ’, पन्तको भनाइ छ ।
बैठकमा वरिष्ठ नेता नेपालले आफूहरू एकताकै पक्षमा रहेको भन्दै केपी ओलीले जति गाली गरेपनि पार्टी एकताको पक्षबाट नभाग्ने बताएका थिए । नेता नेपालको भनाइ उद्धृत गर्दै नेता पन्तले भननुभयो, ‘अध्यक्ष ओलीले पार्टी एकताका नाममा अलमल्याउन खोजेको होइन त भन्ने प्रश्न पनि उठेको छ तर हामी एकताको प्रयास गर्छाै ।’ नेता पन्तले बैठकले चारवटा प्रस्ताव पास गरेको जानकारी दिनुभयो ।
‘सर्वाेच्च अदालतको प्रतिनिधि सभा पुनस्र्थापना गर्ने फैसलाको स्वागत, १० बुँदे भएको बेला र एकता प्रक्रिया चलेका बेला नेताहरूमाथि लाञ्छना लगाउनु नहुने, १० बुँदे सहमतिले एकताको आधार तयार गरेको र त्यसैका आधारमा थप निर्णय गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिएको छ’ नेता पन्तले प्रस्तावबारे जानकारी दिनुभयो ।
त्यस्तै उहाँले आफुहरु तत्काल सरकारमा नजाने पनि प्रस्ट पार्नुभयो ।