२१ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता अनिलकुमार झाले महन्थ ठाकुर पक्षले पार्टी फुटाउन नचाहेको बताउनुभएको छ । आफ्नो पक्षलाई पार्टी फुटाउनुपर्ने कुनै आवश्यकता नरहेको नेता झाले स्पष्ट पार्नुभएको हो ।
निर्वाचन आयोगले दिएको जसपा विभाजनको निर्णयमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकारेपछि पार्टीभित्रको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्छ कि जसपामै रहन्छ भन्ने प्रश्नमा जसपा फुट्नुपर्छ भनेर अदालत नगएको भन्दै नेता झाले पार्टीको सबै पक्ष सँगै रहनुपर्छ भन्ने मान्यता हरेको बताउनुभयो । ।
सर्वाेच्चले न्याय नदिए पनि अन्याय पनि नगरेको झाको विश्लेषण छ । जसपाभित्र सहमतिका लागि कुनै पक्षले पनि प्रयास नगरेको झाले बताउनुभयो । पार्टी अध्यक्ष उपेन्द्र यादवले नचाहे पार्टी सग्लो रहन नसक्ने पनि उहाँको भनाई छ ।
जसपालाई एकीकृत शोषित पीडित मधेसी, जनजातिलगायतको पार्टी बनाउन खोजेको र त्यसका लागि सँगसँगै रहनुपर्छ भन्ने आफुहरुको भनाई रहेको उहाँले बताउभयो ।
जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जान नहतारिएको पनि उहाँले दाबी गर्नुभयो ।