२० असार, काठमाण्डौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो । सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिनुभयो । विश्वकर्माले सरकारको तर्फबाट राजन भट्टराईलाई आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको पनि जानकारी दिनुभयो ।
उहाँले राजनीतिमा इमानदारिता सबैभन्दा ठुलो कुरा भएको भन्दै सहमति कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको पनि बताउनुभयो । आफूहरुले शान्ति प्रक्रियालाई अघि बढाउने भनेर नै गत फाल्गुनमा सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको भन्दै उहाँले आफूहरुको प्रश्न बन्दी रहेका नेता कार्यकर्ताको रिहाइ भएको बताउनुभयो ।