५ असार, झापा । झापामा कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ ।
गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको झापामा पनि निषेधाज्ञा खुकुलो बन्दै गएको हो । योसँगै सार्वजनिक सेवाका कार्यालय, बैङ्क तथा वित्तीय संस्था र होम डेलिभरी सेवाका लागि रेस्टुराँ सञ्चालनलाई खुकुलो बनाइएको छ । झापामा कोरोना सङ्क्रमण दर पनि पहिलेको तुलनामा घट्दै गएको छ ।
झापामा असारको सुरुआतसँगै आर्थिक गतिविधि बढाउन सम्बद्ध जिल्ला प्रशासन कार्यालयले घर तथा भवन निर्माण, ढुवानी, राहत वितरण, भन्सार, आन्तरिक राजस्व, कर तथा शुल्क लगायत आवश्यक काममा सहजीकरण गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यलय झापाका प्रमुख श्रवणकुमार तिमल्सिनाका अनुसार जारी निषेधाज्ञाको पालना गर्दै विकास निर्माण, ढुवानीलगायत आर्थिक गतिविधि बढाउने कार्यमा अवरोध गरिएको छैन । आर्थिक वर्ष अन्तिम महिनाको करलगायत हिसाबकिताब मिलाउनसमेत व्यापार, व्यवसायी नियमित कार्यालय जानुपर्ने भएकाले पनि स्वास्थ्य मापदण्डलाई ध्यान दिई खुकुले गरिएको हो ।