२७ जेष्ठ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने चेतावनी दिनुभएको छ ।
संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेको समयमा मुख्यमन्त्री गुरुङले विश्वासको मत हासिल हुन नसके प्रदेशसभा विघटन हुन सक्ने संकेत गर्नुभएको हो । उहाँले प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको र यो तथ्य एक महिना अघि प्रमाणित भएको दावी गर्नुभयो ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार संञ्चालन गरेर उपधारा ४ अन्तर्गत विश्वासको मतका लागि आफू प्रदेशसभामा उपस्थित भएको उहाँले बताउनुभयो ।