सुदूरपश्चिम प्रदेशमा मन्त्रीहरु हेरफेर

सुदूरपश्चिम प्रदेशमा मन्त्रीहरु हेरफेर


१४ जेष्ठ, काठमाण्डौँ । आन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन् । लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिनुभएको छ ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

यसलाई लिएर विवाद भइरहेका बेला सरकारमा भएका तीन मन्त्रीले आज दिउँसो राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिनुभएको हो ।

लगत्तै एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भएका छन् । मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसअघि उहाँले सम्हालेको आन्तरिक मामिलामा पूर्णा जोशी आउनुभएको छ भने दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लालबहादुर खड्कालाई जोशीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् । त्यस्तै चुनदेवी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज नै शपथ लिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर