२४ चैत्र, बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु विभाजित हुँदा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तत्काललाई टरेको छ ।
जम्मा ८७ सदस्यीय प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ६ जनामध्ये तीनजना अविश्वास प्रस्तावको पक्षमा र तीनजना विपक्षमा उभिएका हुन् ।
सोमबार बिहान मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति जुटिसकेको थियो ।
तर जसपाका सांसदहरु सन्तोष पाण्डे, विजय यादव र कल्पना पाण्डेले पार्टीको निर्देशनविपरीत अविश्वास प्रस्ताव दर्ता प्रकृयामा आनाकानी गर्दै पछि हटेपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमाथिको संकट टरेको हो ।
संसदीय दलका नेता सहषराम यादव, समानुपातिक सांसदहरु सुमन रायमाझी र पुर्मती ढेंगा सरकारविरुद्ध अविश्वास प्रस्तावको पक्षमा उभिएका छन् ।
सोमबारको प्रदेश सभा बैठकपछि पनि सांसद सन्तोष पाण्डे र यादवले मुख्यमन्त्री शंकर पोखरेलसँग सत्ता साझेदारीका लागि भेटवार्ता गरेको जसपा लुम्बिनी प्रदेश समितिका पदाधिकारीले पुष्टि गरेका छन् ।
सांसद कल्पना पाण्डेले भने पार्टीको निर्देशन बाहिर नजाने प्रतिवद्धता जनाएको ती नेताको दावी छ । दुईजना माननीयले आफूखुशी प्रदेश सरकारलाई जोगाउने भूमिका खेलेको भन्दै उनीहरु सच्चिनुपर्छ अन्यथा पार्टीले कारवाही गर्न वाध्य हुने जसपा लुम्बिनी प्रदेश एक पदाधिकारीले भनेका छन् ।
जम्मा ८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् । मुख्यमन्त्री पोखरेललाई सरकार जोगाउन ४४ मत चाहिन्छ । माओवादीका दुई जना सांसद माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् ।