१३ चैत्र, काठमाण्डौँ । प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको मुलुकको एक मात्र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान संञ्चालन भएको विमानस्थलले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा अहिले यान्त्रिक पद्धत्ति (आइएफआर) बाट उडान शुरु भएको जानकारी दिनुभयो ।
विमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फ आठ जहाज अन्यन्त्र मोडिएका छन् । अन्तरराष्ट्रियतर्फ एक जहाज भारतको दिल्ली मोडिएको गरिएको महाप्रबन्धक तिवारीले बताउनुभयो । उहाँका अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको जहाज अवतरण भएको छ ।
मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ ।
विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताउनुभयो । रासस