झापामा २० करोडको लगानीमा रबर उद्योग संञ्चालन हुँदै

झापामा २० करोडको लगानीमा रबर उद्योग संञ्चालन हुँदै


१५ फाल्गुन, झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा पनि रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा २० करोडको लगानीमा कनकाई रबर इन्डस्ट्रिज संञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपटक परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उहाँको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गर्नुभएको थियो ।

हाल झापा, मोरङ र सुनसरीमा करीव ७०० हेक्टरमा रबरको खेती भइरहेको छ । रबरको खेती फस्टाउँदै गएपछि स्वदेशमै उद्योग सञ्चालनको आवश्यकता महसुस गरी काठमाडौँ र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर इन्डस्ट्रिज स्थापना गरेका हुन् ।

डेढ बिघा जग्गामा फैलिएको रबर उद्योगले यसै वर्षदेखि किसानले उत्पादन गरेको रबरको चोप खरिद गर्ने जनाएको छ । उद्योगले प्रतिघण्टा एक हजार लिटर रबरको चोप प्रशोधन गर्ने भएको छ । किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सुलेसन (टाँस्ने पदार्थ) र रबर सोल उत्पादन गरिने सञ्चालक बालकृष्ण सापकोटाले बताउनुभयो ।

नेपालमा सयौँको सङ्ख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सुलेसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर