१५ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन फेल हुने भएकाले प्रचण्ड–माधव समूह डराएको बताउनुभएको छ । त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको उहाँको दाबी छ ।
ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले अविश्वासको प्रस्ताव फेल भए फेरि एकवर्षसम्म अर्काे राख्न नपाइने संवैधानिक व्यवस्था रहेको बताउनुभयो । संसद विघटन भएको दिनमा अविश्वासको प्रस्ताव लगेको सुनेको भन्दै उहाँले मरेको प्रतिनिधिसभा व्यूँतिएपछि त्यो अविश्वासको प्रस्ताव बाँच्यो होला नि भनेर सोध्दा साथीहरु चुइँ नबोलेको बताउनुभयो ।
अविश्वासको प्रस्ताव हो भन्नासाथ अगाडि बढ्ने र फेल हुने उहाँको दाबी छ । नेता नेम्वाङले भन्नुभयो–‘झन चाँडो निकालौैं भनेको केपी ओली त एक वर्षसम्म छुनै नसकिने भयो । त्यसकारण आज साथीभाइहरुलाई साह्रै अप्ठ्यारो पर्यो ।’ उहाँले संसद पुनस्र्थापनापछि प्रधानमन्त्री ओली झन बलियो भएको दाबी समेत गर्नुभयो ।