
५ फाल्गुन, काठमाण्डौँ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई आफूलेमात्र पराजित गर्न सक्ने दावी गर्नुभएको छ । लमहीमा मंगलबार आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन भएमात्र पार्टी र मुलुकले निकास पाउने बताउनुभयो ।
उहाँले १४ औं महाधिवेशनमा आफूले सभापति पदमा दावेदारी दिने प्रस्ट पार्दै सभापति पदका लागि आफ्नो इच्छाभन्दा पनि बाध्यता रहेको बताउनुभयो । महाधिवेशनमा देउवालाई आफूबाहेक कसैले हराउन नसक्ने उहाँको दावी थियो ।
‘काँग्रेसको आउने अधिवेशनमा म पनि सभापतिमा लड्ने हो, तर मलाई इच्छाभन्दा पनि बाध्यता छ,’ महामन्त्री कोइरालाले थप्नुभयो, ‘सभापतिमा देउवाजीलाई मैले बाहेक अरु कसैले हराउन सक्दैन, आउने अधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गरेर चुनाबमा गए पार्टीले जित्छ, नेतृत्व परिवर्तनका लागि तलदेखि पार्टीका नेता, कार्यकर्ताले दबाब दिनुहोस्, माथि मैले पहल गर्छु ।’
सभापति देउवाले पार्टी चलाउन नसकेको उहाँको आरोप थियो । फरक प्रसंगमा उहाँले आगामी वैशाखमा प्रतिनिधिसभा चुनाव हुनै नसक्ने बताउनुभयो । ओली सरकारले आगामी मंसिरभन्दा अगाडि चुनाव गराउन नसक्ने भन्दै उहाँले तत्काल काँग्रेसले महाधिवेशनको तयारीमा आफूलाई केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । महाधिवेशन भएमा नेता, कार्यकर्तामा जाँगर थपिने उहाँको भनाइ थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७