२७ माघ, काठमाण्डौँ । भन्सार एजेन्टको नयाँ लाइसेन्स चालू आर्थिक वर्षभित्र जारी हुने भएको छ । २० वर्षदेखि हुन नसकेको नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको भन्सार विभागले जनाएको छ ।
विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा संञ्चालन गर्ने तयारी गरेको भए पनि कोरोना संक्रमणका कारण यो प्रक्रिया यत्तिकै रोकिएको थियो । संक्रमण दर घट्दै गएको र खोप समेत आइसकेको अवस्थामा महामारी कम भएको आँकलनसहित तयारी अघि बढाइएको हो । त्यसका लागि १/२ चरणको छलफल समेत भइसकेको विभागका प्रवक्ता शिशिर घिमिरेले जानकारी दिनुभयो । विभागले नयाँ लाइसेन्स परीक्षाको पाठ्यक्रम र कार्यविधि समेत तयार गरिसकेको छ ।
कति जनाले पाउँछन् लाइसेन्स ?
८ सय जनाजति भन्सार एजेन्ट भए देशभरका लागि पर्याप्त हुने भन्सार विभागले आँकलन गरिसकेको छ । त्यसमध्ये अहिले एक सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् । अनुमानित आवश्यकता पूरा गर्न छ सय जनाको हाराहारीमा कोटा तोकेरै नयाँ लाइसेन्स खुला हुनेछ ।
दशौं हजार आवेदन परेको अवस्थामा कोटा निर्धारण नगर्दा हजारौंले लाइसेन्स पाउनसक्ने भन्दै यसले बेथिति बढाउने भन्दै संख्या निर्धारण गरेर खुला प्रतिस्पर्धामार्फत नयाँ एजेन्ट खुलाउने प्रक्रिया अघि बढ्ने प्रवक्ता घिमिरे बताउँनुहुन्छ । नयाँ परीक्षा संञ्चालन कुनै पनि कानूनी अवरोध भने नरहेको उहाँको भनाई छ ।
के हो भन्सार एजेन्ट ?
एउटा देशबाट अर्काे देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि त्यस्तो निर्यातकर्ता वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधि भन्सार एजेन्ट हो । यस्तो एजेन्टले भन्सारसम्बन्धी कानूनको पालना गर्दै आयात निर्यातको काममा सहयोग पुर्याउँछ ।
क्रसबोर्डर तस्करी रोक्न, आयातीत वस्तुको शुल्क र ट्यारिफ व्यवस्थित रुपमा संकलन गर्न, बौद्धिक सम्पत्तिको अधिकार रक्षा गर्न, स्थानीय बजार तथा उपभोक्ताको हित रक्षा गर्न तथा अन्तर्राष्ट्रिय दायित्वहरु पूरा गर्नसमेत यस्तो एजेन्टको भूमिका हुन्छ ।
त्यस्तो एजेन्ट बन्न सरकारबाट लाइसेन्स लिनैपर्छ । एजेन्टको रुपमा नियुक्त हुने व्यक्तिले गर्ने हरेक काम निकासीकर्ता वा आयातकर्ताले गरेसरह नै हुने व्यवस्था भन्सार ऐनले गरेको छ । तर, एजेन्टले नियतवश गरेको गल्तीको भागिदार भने एजेन्ट नै हुने व्यवस्था ऐनले गरेको छ ।-रातोपाटी