नेकपा प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण जनजीवन प्रभावित

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण जनजीवन प्रभावित


२२ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेमा उक्त समुहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् ।

प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ । बिहानै काठमाडौँको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अन्य अप्रिय घटना अहिलेसम्म नभएको बताउनुभयो ।

गृहमन्त्रालयले पूर्ववत्रुपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जनाइसकेको छ ।

मन्त्रालयले नेपालको संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा संलग्न हुनेउपर कानूनी कारवाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै उक्त समुहले त्यसको विरोधमा बन्द आह्वान गरेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर