झापा, १६ माघ । जनता समाजवादी युवा संघ नेपालको नाममा झापाको दमकमा १९ गते हुने कार्यक्रमलाई समाजवादी युवा संघले नमान्ने भएको छ । दमकमा हुने भनिएको पार्टी प्रवेश र भेटघाट कार्यक्रम समाजवादी युवा संघ नेपाल प्रदेश नं १ ले अस्वीकार गर्ने भएको हो ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी युवा प्रदेश १ ले सो कार्यक्रम बारे खेद प्रकट गर्दै अस्वीकार गर्ने बताएको हो ।
विज्ञप्तिमा समाजवादी युवाले सो कार्यक्रमको जस-अपजस नलिने र स्वीकार नगर्ने भनी उल्लेख गरेको छ ।
संघका प्रदेश १ इन्चार्ज समिर नाछिरिङ, अध्यक्ष श्री सुब्बा र मुख्य सचिव पवन बिष्टत्रयले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा आपसी सहमति बिना एकतर्फी रूपमा युवा संघ प्रदेश नम्बर १ ले कार्यक्रम सन्चालन गरेको आरोप लगाइएको छ ।
जनता समाजवादी युवा संघको आयोजनामा हुने भनिएको पार्टी प्रवेश र भेटघाट नामक सो कार्यक्रममा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो प्रमुख अतिथि रहने भनी प्रचार गरिएको छ । नेता महतो सहित जसपाका कार्यकारिणी समिति सदस्य युवराज कार्की, लिम्बुवान राष्टृय समिति अध्यक्ष खगेन्द्र माखिम र केन्द्रीय सदस्य भूराज राईको तस्वीर प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि भनी सार्वजनिक गरिएको छ ।