लागु औषध कारोबारी र ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ गरिने झापा प्रहरीको भनाई

लागु औषध कारोबारी र ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ गरिने झापा प्रहरीको भनाई


३ माघ, झापा । जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जिल्लामा बढ्दो लागु औषध कारोबार र ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ गरिने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँबाट भर्खरै सरुवा भएर झापा आउनुभएका एसपी भट्टराईले शुक्रवार झापाली पत्रकारहरूसँग गरेको संक्षिप्त परिचयात्मक कार्यक्रममा यस्तो बताउनुभएको हो ।

उहाँले २०६२ सालमा प्रहरी निरीक्षक भएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जिम्मेवारी सम्हालिसक्नुभएको छ । १५ वर्षपछि पुनः सोही जिल्लाकै नेतृत्व सम्हाल्ने मौका मिलेको बताउँदै एसपी भट्टराईले जिल्लामा लागु औषध र दुव्र्यसनीको सङ्ख्यामा बढी रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
‘१५ वर्षअघि सीमा नाका बस्दा जस्तो अवस्था थियो, अहिले पनि त्यस्तै अवस्था छ,’ एसपी भट्टराईले भन्नुभयो, ‘भारतको पानीटंकी बजारमा सहज रुपमा लागु औषध खरिद गर्न पाउँदा त्यस्तो समस्या ज्युकात्यु नै छ ।’
‘लागुऔषधको कुलतमा फसेका युवायुवतीलाई त्यसबाट मुक्त बनाउन र अवैध कारोबार रोक्न भारतीय काउन्टर पार्टसहरुसँग समन्वय र सहकार्य गरेर आफ्नो कार्यकालमा अभियान नै थाल्छौँ’ उहाँले भन्नुभयो ।

साथै सीमा नाका बन्द रहेको अवस्थामा भारतीय नम्बर प्लेटका सवारीसाधन खुलेआम सञ्चालनमा आइरहेकोले त्यसलाई रोक्न सम्बन्धित निकायसँग सहकार्य गरेर अघि बढ्ने उहाँको भनाई छ । सीमा नाकामा हुने अवैध चोरी निकासी तथा सवारी दुर्घटना न्यूनीकरण, मानव बेचबिखन रोकथाम, सामाजिक अपराध नियन्त्रण, सामुदायिक प्रहरीमार्फतको साझेदारी कार्यक्रमलाई फोकस गरेर कार्यान्वयन ल्याउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर