१ माघ, काठमाण्डौँ । आज माघे संक्रान्ति पर्व । सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। थारु समुदायले आज धुमधामसँग माघी पर्व मनाउँदै छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
तराईवासीले माघ १ गतेलाई नहानअर्थात नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज अनिवार्य नुहाउनुपर्ने मान्यता छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।
यस्तै पुर्वका किराती समुदायले आजकै दिन किरात प्रथम राजा यलम्बरले चलाएको यले सम्वत ५०८१ को स्वागत गरेका छन् । यले सम्बतको पहिलो दिन आज उनीहरुले यलेदोङको रुपमा नयाँ बर्षको स्वागत गरेका छन् । यस्तै लिम्बु समुदायले पनि आज र्नै कक्फेवा तङ्ना धुमधामका साथ मनाउदैछन् ।
यही अवशरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालका प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति भएको चर्चा गर्नुहुँदै विविधताबीच सुदृढ एकता र सहिष्णुताको यस पुँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले थारू समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रको सुदृढ एकताको जगमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर रहेको चर्चा गर्नुभएको छ ।