किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघको सातौं स्थापना दिवस सम्पन्न

किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघको सातौं स्थापना दिवस सम्पन्न

२३ पौष, झापा । किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघको सातौं स्थापना दिवस सम्पन्न भएको छ । थिन्दोलुङ खोयाहाङ्ग वंशका वरिष्ठ जेष्ठ नागरिक प्रेमबहादुर खोयाहाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न सो सातौं स्थापना दिवस कार्यक्रमको अध्यक्षता केन्द्रीय उपाध्यक्ष क्या. टेकेन्द्र खोयाहाङ्गले गर्नुभएको थियो । दमकस्थित संघको मुख्यालयको प्राङ्गणमा आयोजना गरिएको सातौं स्थापना दिवस कार्यक्रममा झापा, मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्नुहुने थिन्दोलुङ खोयाहाङ्ग वंशका दाजुभाइ तथा दिदीबहिनीहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

संघको आर्थिक स्थितिलाई बलियो बनाउने उद्धेश्यले विधिवत् रुपमा स्थापना गरिएको अक्षयकोष कार्यक्रमका सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । प्रमुख अतिथि प्रेमबहादुर खोयाहाङ्गलाई ढाका टोपी र सिलामसाक्मा उपहार प्रदान गरी अभिनन्दन गरिएको थियो । साथै समारोहमा सहभागीहरूलाई सिलामसाक्मा प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी अम्बिकादेवी योङ्हाङ खोयाहाङ्ग, धनमाया थेबे खोयाहाङ्ग, छत्र खोयाहाङ्गलगायतले सातौँ स्थापना दिवसको अवसरमा संघको उत्तरोत्तर प्रगतिको कामना गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि प्रेमबहादुर खोयाहाङ्गको हस्तबाहुलीबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको कार्यक्रम सञ्चालन केन्द्रीय कोषाध्यक्ष कुमार खोयाहाङ्गले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रीय महासचिव प्रेमकुमार खोयाहाङ्गले स्वागत मन्तव्य राख्नुभएको थियो भने केन्द्रीय सल्लाहकार परिषदका सभापति दङ्गधोज खोयाहाङ्गले काठमाण्डौंबाट भर्च्युअली मार्फत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसअघि अक्षयकोष कार्यक्रमका सदस्यहरूलाई घरघरमै गई प्रमाणपत्र वितरण गर्ने संघको नीति अनुरुप अध्यक्ष क्याप्टेन रविनकुमार खोयाहाङ्गको नेतृत्वमा उपाध्यक्ष क्याप्टेन टेकेन्द्र खोयाहाङ्ग, महासचिव प्रेमकुमार खोयाहाङ्ग र कोषाध्यक्ष कुमार खोयाहाङ्गको चार सदस्यीय टोली धनकुटा पुगी प्रमाणपत्र वितरण गरेका छ । किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघ, शाखा कार्यसमिति धनकुटाको अगुवाइमा बैठक बसी छलफल तथा विचारविमर्श कार्यक्रम समेत तय गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर