प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छः नारायणमान बिजुक्छे

प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छः नारायणमान बिजुक्छे


७ पौष, काठमाण्डौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीले चालेको कदम उर्पयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिनुभएको छ ।

वर्तमान राजनीतिक घटनाक्रमका बारेमा रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी फुटे अर्काे बन्ला, देश फुटे के गर्ने ? यतिखेर ओलीले देश फुट्नबाट जोगाउनुभएको छ, तर यो सङ्कट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब जनता सजग हुनु जरुरी छ ।”

संविधानले परिकल्पना गरेको मान्यता र संविधानभित्रै रहेर प्रधानमन्त्रीले कदम चालेको जिकिर गर्दै पूर्वसांसद बिजुक्छेले संविधानभित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता भने आँैंल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले ‘कु’ गरे भन्नु गलत भएको टिप्पणी गर्दै नेता बिजुक्छेले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै ‘कु’ भन्न मिल्ने तर्क राख्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले ‘कु’ गर्नुभएको होइन, बरु ‘कु’ असफल चाहिँ पार्नुभएको हो ।”

दुई तिहाइ बहुमत नजीकको सरकारका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आफ्नै नेताहरु नै लाग्नु बाह्य चलखेल भएको जिकिर गर्दै उहाँले यसमा प्रधानमन्त्री ओली निकै सचेत भएको र अझै सचेत हुनु जरुरी रहेको बताउनुभयो ।

गुमेको नेपाली भूमि नक्शामा समावेश गरी भूमि फर्काउने अडान ओलीले कायम राखेकाले पनि अहिलेको परिस्थिति आएको तर्क उहाँले दिनुभयो । उहाँले नयाँ जनादेशका लागि चुनावमा जानाको विकल्प नभएको जनाउँदै सरकारले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउनुपर्नेमा जोड दिनुभयो ।

-रासस

प्रतिक्रिया:

सम्बन्धित खवर