४ पौष, काठमाण्डौँ । प्रदेश–१ मा रहेका सुकुम्वासीलाइ प्रदेश सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । इलामको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार पाँच सय १५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो ।
प्रदेश–१ सरकारले सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरणका लागि प्रदेशका ३० स्थानीय तहका एक लाख नागरिकलाई लालपुर्जा वितरण गर्नेछ । यसका लागि प्रक्रिया अघि बढेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
आयोगले भूमिहीनरसुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्नका लागि स्थानीय तहका पदाधिकारीबीच समझदारीपत्रमा हस्तान्तरण गरेको छ । माई नगरपालिकामा नौ सय ५७ घरपरिवार सुकुम्वासी छन् । यस्तै तीन हजार दुई सय ३८ घरपरिवार भने अव्यवस्थितरूपमा बसोबास गरिरहेकाको तथ्याङ्क छ । सुकुम्वासी र अव्यवस्थित गरी चार हजार एक सय ९५ घरपरिवार सुकुम्वासी रहेको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै माङसेबुङ गाउँपालिकामा ४९ दलित सुकुम्वासी, चार सय ७१ अन्य समुदायका सुकुम्वासी र एक हजार आठ सय अव्यवस्थित गरि दुई हजार तीन सय २० घरपरिवार सुकुम्बासी छन् ।
सरकारले भूमि सम्बन्धि ऐन २०२१ को आठौं संशोधन पछि नियमावलीको १८ औं संशोधनका आधारमा नौ वटा कार्यविधि तयार पारेर काम थालेको आयोग अध्यक्ष ज्ञवालीको भनाइ छ ।
यसका लागि आगामी फाल्गुनसम्ममा लगत सङ्कलनका लागि पालिकाले नागरिकको घरमै पुगेर फाराम भराउनु पर्नेछ । अव्यवस्थित रूपमा बसोबास आएकालाई सेतो र दलित तथा व्यवस्थित रूपमा बसिआएका तर लालपुर्जा नपाएका सुकुम्बासीलाई गुलाबी रङ्गको भराइने जनाईएको छ ।