२१ मंसिर, इलाम । इलामको चुरे क्षेत्रमा पर्ने रोङ गाउँपालिकाले साईकल ट्रेलको सम्भाव्यता अध्ययन थालेको छ । गाउँपालिकाले २९ किलोमिटर ट्रेलको सम्भाव्यता अध्ययनलाई अघि बढाएको हो । गाउँपालिकाका प्रवक्ता मणीकुमार स्याङ्बोका अनुसार वडा नं ३ को हाँसपोखरी देखि वडा नं ६ को पाटापुरसम्म साइकल ट्रेल बनाइनेछ ।
हाँसपोखरी र हर्कटेबाट भूमापन डाँडो, ब्रिटिसटार, गिद्धे भिर, डोल गैरी, हल्लने ढुङ्गा, रमिते डाँडा, झण्डी डाँडा आलुबारी गुर्धुमडाँडा, फिरफिरे डाँडा भिमसेन ढुङ्गा सिद्धि नहरको ट्याक हुदै पाटापुरसम्मका बिभिन्न महत्वका स्थानहरुमा मार्ग बनाउनको लागि डिपिआर गरेर केन्द्र र प्रदेश सरकार समक्ष योजना पेश गरिने तयारीमा लागेको रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राईले बताउनुभयो ।
डेढ बर्ष अघि गाउँपालिकाको संयोजनमा कुटिडाँडाबाट इलाम बजार हुँदै झापासम्म साइक्लिङ गरिएको थियो । अर्गानिक कृषि, चिया, जडीबुटी, जैविक विविधता र हिमशृंखलाले पर्यटक लोभ्याउने पूर्वी पहाडमा ‘साइकल पर्यटन’ सम्भावना खोजी गर्न पछिल्लो समय पुर्वका विभिन्न सहरबाट साइक्लिङको लागि इलाम रोजाईमा पर्दै आएको छ । विश्व साइकलयात्री पुष्कर साह लगायतले पटक पटक इलाममा साइकल यात्रा गरेर पर्यटनलाई समेत सघाउ पुर्याएका छन् ।