१० मंसिर, स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको समृद्धिका लागि पार्टी एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको बताउनुभएको छ । पार्टीभित्र देखिएको विवादलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिदैँ उहाँले पार्टीको फुटले कसैलाई फाइदा नहुँने बताउनुभयो ।
नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरी अतिथि गैहे्रको निधनको नवौँ दिनको पूण्य तिथिमा स्याङ्जाको गल्याङ–९ गेझास्थित घरमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले पार्टीको एकतालाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने बताउनुभयो ।
हिजो जनताकै चाहनाले पार्टी एक भएको स्मरण गराउदैँ उहाँले भन्नुभयो–‘एक भएका कम्युनिष्ट व्यक्तिले चाहेर अलग हुन नसक्ने र जनताको आशालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ ।’ श्रद्धाञ्जलि सभामा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, संविधानसभा सदस्य अमृता थापा मगर, नेकपा जिल्ला अध्यक्ष एवं प्रदेश सांसद मीनप्रसाद गुरुङ र नेकपा नेता शैलेन्द्र घिमिरेले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको थियो ।