नेकपाको विवाद मिलाउन राष्ट्रपति भण्डारी सक्रिय

नेकपाको विवाद मिलाउन राष्ट्रपति भण्डारी सक्रिय


३ कार्तिक, काठमाण्डौँ । आज बस्ने भनिएको नेकपा सचिवालय बैठकअघि हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले दुवै नेतासँग भेटेर पार्टीभित्रको संकट समाधान दुई अध्यक्षको मिलनबाटै हुने सन्देश दिएको स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले प्रचण्डसँगको भेटमा सचिवालयमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता लिन र ओलीसँग सहकार्य गरेर जान सन्देश दिनुभएको स्रोतको भनाई छ ।

उता नेकपाका दोस्रो तहका नोतहरुको दौडधुप पनि सोमबारदेखि नै जारी छ । खासगरी, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी लगायत नेताहरूले ओली र प्रचण्डसँग निरन्तर संवाद गरिरहनुभएको छ ।

हिजो बालुवाटारमा ओलीपक्षका नेताहरुको दिनभर भएको छलफलले आजको बैठक केही दिन सार्न नेताहरुलाई सुझाव दिएको छ । हिजोनै महासचिव विष्णु पौडेलले खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटी बैठक स्थगित गरेर ओलीसँग संवादमा बस्न आग्रह गर्नुभएको थियो ।

यता बहुमत सचिवालय सदस्यहरु कुनै हालतमा बुधबारको बैठक रोक्न नहुने अडानमा छन् । पार्टीभित्रको विवाद पेचिलो बन्दै जाँदा वरिष्ठ नेता माधव नेपालले पनि छलफललाई तीव्र बनाउनुभएको छ । उहाँले पनि हिजो आफू पक्षका नेताहरूसँग छलफल गर्नुभएको थियो ।

त्यस्तै नेपालका लागि चिनियाँ राजदूत चिहोउ यान्छीले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई पनि हिजै भेट गर्नुभएको छ । ती भेटवार्तामा राजदूत यान्छीले नेकपाभित्रको राजनीतिबारे चासो राख्नुभएको थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर