२९ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मंसिर ३ गतेका लागि तय भएको सचिवालय बैठकमा कडा बहस हुने निश्चित भएको छ । बैठक अगावै नेकपा नेताहरुबीच सामाजिक संञ्जालमा आरोप प्रत्यारोप सुरु भएको छ ।
हिजो बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुलाई लेखिएको पत्र र प्रचण्डको प्रत्युत्तर पत्रमाथि सार्वजनिक बहस चलेको छ । विशेषगरी ओली निकटस्थहरुले प्रचण्डमाथि गुटबन्दीको आरोप लगाएका छन् । कतिपय नेताहरुले नेकपा बिघटनको संघारमा पुगेको आशयसहितको विषय उठाएर लेख्न थालेका छन् ।
नेकपाभित्र तिहारलगत्तै हुने सचिवालयमा ठुलै टकराव हुने स्पष्ट भएको छ । ओली र प्रचण्ड दुवै पक्षले आ–आफ्नो तयारी गरेका छन् । ओली कुनै हालतमा अध्यक्ष र प्रधानमन्त्री पदबाट नहट्ने अडानमा छन् । उहाँले सार्वजनिक रुपमा यसबारे अभिव्यक्ति दिदै आउनुभएको छ ।
ओलीविरोधी समूहले भने ओलीसँग सहमतिको न्यूनतम बिन्दु तय गरिरहेको बुझिएको छ । सहमतिका लागि ओलीलाई अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पदमात्र रोज्न भनिने बुझिएको छ ।
एक व्यक्ति एक पदको नीति अनुसार प्रस्ताव तयार गर्नेबारे प्रचण्डलगायतका नेताहरु लगभग टुंगोमा पुगेको स्रोतले जानकारी दिएको छ ।