२४ कार्तिक, इलाम । वर्षाैँदेखि पानीको समस्या रहेको इलामको सोयाकमा डिप बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीयवासी खुसी भएका हुन् ।
इलाम नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ संञ्चालन गरी १०० भन्दा बढी घरपरिवारलाई पानी उपलब्ध गराएको हो । कति परिवार पानी नभएकै कारण सो स्थान छोडिसकेको भए पनि पानी पाएपछि सोही ठाउँमा फर्किन थालेका छन् ।
स्थानीय नरेन्द्रप्रसाद आचार्य पानी अभावकै कारण आफू जन्मेको थातथलो छोडेर पानी भएको ठाउँमा बसाइँ सर्नुभएको थियो । गएको चैतबाट पानीको काम अगाडि बढेपछि उहाँले पुनः फर्किएर सोही ठाउँमा घर बनाउनुभएको छ । उहाँले मात्र होइन धेरैले सो ठाउँ छोडिसकेका थिए । पानी आउने खबर पाएका विस्थापितहरु सोही स्थानमा फर्किन थालेको उहाँले बताउनुभयो ।
अहिले नगरपालिकाले बोरिङ प्रणालीमार्फत पानी निकालेपछि केही हदसम्म भए पनि समाधान हुनेमा स्थानीयवासी ढुक्क भएका छन् । सो क्षेत्रको खानेपानीको सङ्कट टार्न पहाडी क्षेत्रमा डिप बोरिङमार्फत समस्या समाधान गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । बर्सेनि पानीको मुहान सुक्न थालेसँगै स्थानीयवासीले गाउँ छाड्न थालेपछि नगरापालिकाले बोरिङ प्रणालीमार्फत स्थानीयवासीलाई पानी वितरण गरेको उहाँले बताउनुभयो ।
इलाम नगरपालिका र नेपाल सरकारको विशेष अनुदानमार्फत रु २ करोड ४७ लाखको लागतमा सो आयोजना निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत कालीप्रसाद भुजेलले जानकारी दिनुभयो ।