१८ कार्तिक, काठमाण्डौँ । प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका नेता सूर्यबहादुर केसीको निधन भएको छ । मधेमेह र रक्तचापको समस्याबाट गुज्रिरहेका केसीको गएराति (सोमबार) निधन भएको हो ।
केसीको पोखरास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो ।
कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभासदस्य बन्नुभएका केसी पोखराका पूर्व प्रधानपञ्च हुनुहुन्थ्यो । पहिलो संविधान सभाको निर्वाचनमा उहाँ राप्रपाबाट समानुपातिक सांसद बन्नुभएको थियो ।
नेपालकै प्रतिष्ठित उद्योगीका रुपमा चिनिनुभएका केसी नेपाली चाउचाउ उद्योगका पायोनियर हुनुहुन्छ । हिमश्री फुड्सका अध्यक्ष केसीकै अगुवाइमा नेपालमै मात्र नभएर दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन सुरु भएको थियो ।
रारा चाउचाउ दक्षिण एसियाकै पहिलो मानिन्छ । त्यसको केही महिनापछिमात्र भारतमा म्यागी चाउचाउको उत्पादन सुरु भएको थियो ।
उहाँको ६३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।