७ कार्तिक, पर्सा । पर्साको विन्दवासनी गाउँपालिकामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकाले आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप भएको हो ।
झडपमा घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भिर रहेको छ । झडपमा गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो । अर्का गम्भीर घाइते उत्तम तिवारीको नारायणी अस्पतामा उपचार भइरहेको छ ।
नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा (हिजो) बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा दर्जनौँ व्यक्ति घाइते भएका थिए । कार्यक्रम स्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद हुँदा उग्ररुप लिएको थियो । सो क्रममा दर्जनौँ कार्यकर्ता घाइते भएको नेकपा पर्साले जनाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले परसौनीभाठा बस्ने मुकेश चौरिसयाको उपचारको क्रममा मृत्यू भएको जानकारी दिनुभयो । २ जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको छ ।
प्रहरीले पक्राउ गरेका मध्ये नेकपाका नेता राजुकुमार गुप्तालाई बिहिबार राती नै रिहा गरिदिएको थियो भने अन्य ७ जनालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।