७ कार्तिक, काठमाण्डौँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले कोरोना महामारी व्यवस्थापनमा आफ्नो संगठनलाई परिचालन गर्ने भएको छ । सरकारले कोरोना महामारीको व्यवस्थापन तथा बिरामीको उपचारबाट हात झिकेको भन्दै जिम्मेवार पार्टीका नाताले जनताको सेवामा समर्पित हुने निधो गरिएको काँग्रेसको संगठन विभागद्वारा जारी विज्ञप्तिमा चनिएको छ ।
पीसीआर परीक्षण जनता स्वयंले गर, असाध्यै गाह्रो नभइकन अस्पताल नजाउ, मृत्यु भएमा आफै दाहसंस्कार गरजस्ता गैरजिम्मेवार निर्देशन सरकारी पक्षबाट आउनु अत्यन्त दुःखद र निन्दनीय कुरो रहेको संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सरकारले पूरै हात उठाएको वर्तमान अवस्थामा जनताले राज्यको अस्तित्वको आभाष गर्न छाडेका छन्, यो विषम परिस्थितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आफ्नो भूमिका बढाउनु अपरिहार्य रहेको कुरो उल्लेख गरिएको छ ।
राजनीति जनताका लागि हो र जनताको हक अधिकारका लागि यति धेरै संघर्ष र युद्ध गरेको गौरवशाली इतिहास बोकेको नेपाली काँग्रेस र यसका नेता तथा कार्यकर्ताहरुले ‘सरकारले गर्नुपर्ने दायित्व हो’ भनेर हात बाँधेर बस्नु आफूहरुको आस्था, दर्शन र संस्कार विपरीत हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेपाली काँग्रेसका मूल्य र मान्यतालाई आफ्नो आदर्श मान्ने हरेक तह र तप्काका कार्यकर्ताले यो विषम परिस्थितिमा तन, मन र धनले यथासम्भव सहयोग गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको पनि प्रस्ट पारिएको छ ।